जनता टाइम्स

२० असार २०८०, बुधबार १६:११

राजेन्द्र राई–लीलबहादुर थापाको जोडीले जित्यो मदन स्मृति ब्याडमिन्टनको उपाधी


काठमाडौं, असार २० । जननेता मदन भण्डारीको ७२औ जन्म जयन्तीको अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको पूर्वसांसद र बहालवाला सांसदबीचको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सांसद राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीले जीत हासिल गरेको छ ।

मंगलवारबाट सुरु भएको खेलको उदघाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । प्रमुख अतिथि ओलीले खेल सामग्री मुख्य निर्णायक अनुपरत्न शाक्यलाई हस्तान्तरण गरेर उद्घघाटन गर्नु भएको थियो ।

रिभाइभ लिजर पार्क महालक्ष्मीस्थान ललितपुरमा भएको प्रतियोगिताको फाइनल खेल राजेन्द्र राई/लीलाबहादुर थापा र यज्ञराज सुनुवार/दिलमान पाख्रिनको टिम बिच भएको थियो। सो खेलमा राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडीले जीत हासिल गरेको हो ।

प्रतियोगितामा कमल थापा/गणेश थापाको टिम र भानुभक्त ढकाल/नवराज सिलवालको टिम तृतीय भएका छन । सेमिफाइनल टिममा पराजित दुवै टिमले तृतीय स्थान प्राप्त गरेको प्रचार बिभाग प्रमुख तीर्थ खडकाले जानकारी दिनुभयो । राजेन्द्रकुमार राई र लिल बहादुर थापा प्रथम तथा यज्ञराज सुनवार र दिलमान पाख्रिन दोस्रो हुनुभएको छ ।

प्रतियोगितामा कमल थापा/गणेश थापाको टिम राजेन्द्रबहादुर राई/लीलाबहादुर थापाको टिमसँग सेमिफाइनलमा पराजित भएको थियो । त्यस्तै भानुभक्त ढकाल÷नवराज सिलवालको टिम यज्ञराज सुनुवार/दिलमान पाख्रिनको टिमसँग पराजित भएको थियो । बिजयी टीमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र महासंघका अध्यक्ष पर्शुराम बस्नेतले पुरस्कार प्रदान गर्नुभयो ।