जनता टाइम्स

२२ असार २०८०, शुक्रबार १७:२३

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट


काठमाडौं, २२ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको बिदाई भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा छलफल भएको छ ।

अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । ‘कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत् राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरु पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसहरूको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रर्वद्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका बताउनुभयो ।

नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।

राजदूत अल–हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुबिधा उपलब्ध गराउने बिषयमा पनि गम्भीर रहेको बताएका राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो । राजदूत अल–हेलले पोखरालगायतका विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरुमा ५÷६ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो समेत गर्नुभयो ।