जनता टाइम्स

२२ असार २०८०, शुक्रबार १८:२७

धनगढीमा भेटिए डेङ्गु संक्रमित


धनगढी, २२ असार । धनगढीमा डेङ्गुको बिरामी फेला परेका छन् । धनगढी उपमहानगरको वडा नम्बर–९ गौरीकटानमा डेङ्गुका बिरामी फेला परेका हुन् । गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो । बिहीबार बिरामी भएर अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो ।

बिरामीको अहिले उपचार भइरहेको छ । अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ । सफा पानीमा हुर्कने प्रजातिको लामखुट्टेले टोक्दा डेङ्गु संक्रमण हुन्छ । डेङ्गुबाट बच्न र बचाउन घर वरिपरि सफा पानी जम्न नदिने र दिनको समयमा लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ ।