काठमाडौं, असार २२ । नेपाल प्रहरीले एक बर्षे कार्ययोजना सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महारिनरीक्षक बशन्त कुँवरले कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।
प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०८० सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले कार्ययोजनाको प्रमुख उद्देश्य भन्नु नै प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने भएकोले सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वामित्व लिई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । कार्ययोजनाले समयानुकूल सांगठनिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले अहोरात्र जनताको जीउधनको सुरक्षामा खटिनु पर्ने जिम्मेवारी बहन गर्न उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरूबाट मात्र सम्भव भएकोले आन्तरिक शुद्धिकरण, वैज्ञानिक र विशिष्टिकृत अपराध अनुसन्धान प्रणाली, प्रहरी कर्मचारीका आधारभूत आवश्यकताहरूको परिपूर्ति, वृत्ति विकास र कल्याणकारी योजनाहरू यस कार्ययोजनाको मुख्य लक्ष्यमा परेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी कार्ययोजना–२०८०, नेपाल प्रहरी कार्ययोजना–२०७९ को समीक्षा, कार्यान्वयन प्रकृया एवम् कार्ययोजना बेन्चमार्क गतिविधिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधि, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्