काठमाडौं, असार २३ । मुलुकका बिभिन्न भागमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार ५ जिल्लामा भएको सवारी दुर्घटनामा ८ जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार रूपन्देहीको सैनमैना नगरपालिका-४ रन्यौरामा लु.१ ब १३३५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीया सचि कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी महोत्तरीको औरही नगरपालिका-७ भोइलमा ज.१ त १६५५ नम्बरको ट्याक्टरको टेलरको पछाडी प्रदेश २-०२-००२ प ६४११ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गौशाला नगरपालिका-१२ बस्ने ३५ वर्षीय प्रदिप महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय सिटिजन अस्पताल रामगोपालपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको लेटाङ नगरपालिका-३ स्थित सडकमा प्र.न.१-०२-००३ ह १३१२ नम्बरको अटोलाई प्र.न.१-०२-००२ च ४१७३ नम्बरको बोलेरो गाडीले शुक्रबार राति ठक्कर दिँदा अटोमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक कानेपोखरी गाउँपालिका-६ बस्ने ३५ वर्षीय सागर तामाङको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा र अटोमा सवार सोही गाउँपालिका बस्ने ३३ वर्षीय टीका आले मगरकी छोरी ८ वर्षीया रोशनी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-७ आइतबारेमा प्र.२-०१-००३ प ४९३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सिरहा लहान नगरपालिका-२४ बस्ने २० वर्षीय सन्तोष भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर उर्लावारी मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रिफर गरिएको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँमा ना.६ ख ६६६७ नम्बरको ट्रक र ना.६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ना.६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवन राप्ती नगरपालिका-८ बस्ने २७ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकको सह-चालक गोरखा गण्डकी गाउँपालिका-२ गोर्दीटार बस्ने २० वर्षीय सुमन चेपाङ र ना.६ ख ६३१ नम्बरको ट्रकका सह-चालक मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने २० वर्षीय अमृत प्रजाको मृत्यु भएको हो ।
दुर्घटना पश्चात आगलागी समेत हुँदा दुवै ट्रक पूर्णरूपमा जलेर नष्ट भएका छन् । साथै दुर्घटनामा घाइते भएका दुवै ट्रकमा सवार २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्