जनता टाइम्स

२३ असार २०८०, शनिबार २०:४६

अविवाहितले मासिक भत्ता पाउने


काठमाडौं, असार २३ । भारतको हरियाणा राज्यमा अविवाहितले मासिक भत्ता पाउने भएका छन्। हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले प्रान्तका अविवाहित महिला पुरूषलाई मासिक २ हजार ७५० रूपैयाँ भत्ता दिने घोषणा गर्नुभएको हो ।

अविवाहित महिलापुरूष मात्रै होइन ,पत्नीको मृत्यु भएका विधुर पुरूषले पनि भत्ता पाउने भएका छन्। बिबिसीका अनुसार शुक्रबार करनाल जिल्लामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री खट्टरले सो घोषणा गर्नुभएको थियो । त्यसका लागि प्रान्त सरकारले सबै तयारी पूरा गरेको पनि उहाँको भनाइ थियो।

पेन्सन पाउनका लागि केही शर्त राखिएका छन्। पहिलो, अविवाहित व्यक्तिको उमेर ४५ वर्षमाथि र ६० वर्षभन्दा तल हुनुपर्छ। दोस्रो, त्यस्ता व्यक्तिहरूको वार्षिक आम्दानी १ लाख ८० हजारभन्दा कम हुनुपर्छ।

विधुर पुरूषको हकमा ४० वर्ष पार भइ ६० वर्ष ननाघेको र वार्षिक तीन लाख रूपैयाँ भन्दा कम आम्दानी हुनुपर्ने शर्त राखिएको छ। अविवाहितको संख्या ६५ हजार र विधुरको संख्या ५ हजार ६८७ रहेको छ।