जनता टाइम्स

२५ असार २०८०, सोमबार १३:५९

फेरि छलफलमा जुटे तीन दलका शीर्ष नेता, आउला त निकास ?


काठमाडौं, असार २५ । प्रतिनिधि सभाको बैठक अगाडि कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता आज पनि छलफलमा जुटनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेसहितका विपक्षी दलले राजीनामा माग्दै संसद अवरोध गरिरहेपछि सत्ता पक्षले सोमबार पुनः प्रमुख प्रतिपक्ष दल एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाएको हो।

सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेको छ । संसदको गतिरोध अन्त्य गर्न र एमालेले संसदमा उठाएका मागको सन्दर्भमा छलफल गर्न शीर्ष नेता जुटनु भएको हो ।

एमालेले भ्रष्टाचारका ठूल्ठूला घटनालाई सरकारले अघि बढाएका कारण विपक्षीले संसद् अवरोध गरेको भन्ने विज्ञप्तिको भाषालाई लिएर संसदमा स्पष्ट पार्नुपर्ने अडान राखेको छ । आइतबार पनि प्रचण्डसँग ओलीले सचिवालयको विज्ञप्तिबारे पनि स्पष्ट नभई संसद् अवरोध खुल्न नसक्ने ‘चेतावनी’ दिनुभएको थियो ।

एमालेको चेतावनीपछि प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई फोन गरी प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित गरिदिन आग्रह गर्नुभएको थियो ।