काठमाडौं, २५ असार । प्रहरीले वैदेशिक रोजगारमा गएका कामदारलाई प्रयोग गर्दै गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै केही रकम र होटल खर्च दिएर वैदेशिक रोजगारबाट फर्कने कामदारलाई प्रयोग गरेर कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीका विनोदकुमार साह र उनकी श्रीमती सन्जुकुमारी साह, धनुषाका सुनीलकमार महरा, सिराहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तुगुलाम मुराउ, धनुषाका नेशर पंजियार, बाँकेका भुमबहादुर वली रहेका छन् । प्रहरीले दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव र निमाई साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये विनोदकुमार साह र उनकी श्रीमतीले सिनामंगलमा होटल सञ्चालन गरेको र सुन संकलन गर्ने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी मनोज केसीले बताउनुभयो ।
सुन किन्ने, पैसा कतारमा व्यवस्थापन गर्ने काम शिवसुन्दर राउत गर्दै आएको प्रहरीको भनाइ छ । वैदेशिक रोजगारबाट स्वदेश फर्कँदा कामदारलाई प्रयोग गरेर ५० ग्रामका दरले सुन ल्याउन लगाउने र त्यसबापत केही रकम दिने अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उक्त समूहले गएको चार वर्षमा मात्रै २ अर्ब ३७ करोड रुपैयाँ बढीको सुन तस्करी गरेको अनुसन्धानबाट देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यस विषयमा विभिन्न कोणबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्