जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार १९:०५

संसदले किनेको महिन्द्रा स्कोरपियो जिपमा गम्भीर समस्या, तीन गाडी फिर्ता पठाउन निर्देशन


काठमाडौं, भदौ १७ । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले महिन्द्राको स्कोरपियो जिपमा गम्भिर समस्या फेला पारेको छ । समितिले जीपमा समस्या भेटेपछि तीनवटा गाडी फर्काउन निर्देशन दिएको छ ।

संसदीय समितिका सभापतिहरु चढ्ने गरेको गाडीमा समस्या आएपछि सभामुख कृष्णबहादुर महराले छानविन समिति गठन गर्नुभएको थियो । संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोर्पियो जिप एक महिनामै बिग्रन थालेपछि सभामुख महराले गत साउन २७ गते बिँडारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाउनु भएको थियो ।

समितिमा सांसदहरु तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल सदस्य रहनुभएको थियो । समितिले आफ्नो अध्ययनपछि गाडीमा गम्भीर त्रुटी फेला परेको प्रतिवेदन सभामुख कृष्णबहादुर महरालाई आज बुझाएको छ । प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा प्राविधिक कमजोरी पाइएको उल्लेख छ । ती ११ वटा गाडी महिन्द्रा कम्पनीका हुन ।

छानबिन समितिका संयोजक रामनारायण बिँडारीका अनुसार समितिले प्राविधिक त्रुटि भेटिएका गाडी एक हप्ताभित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका तीनवटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन संसद सचिवालयलाई निर्देशन दिइएको छ । प्रतिगाडी ५५ लाख मूल्यका तीन वटा नयाँ स्कोर्पियो जिप कामै नलाग्ने भेटिँदा छानबिन समिति नै आश्चर्यमा परेको बिडारीले बताउनु भयो । छानबिन समितिले कामै नलाग्ने ती गाडी फिर्ता नलिए आपूर्तिकर्ता महिन्द्राको नेपालस्थित बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिलाई कानुनबमोजिम कारबाही गर्न सिफारिससमेत गरेको छ ।

‘संघीय संसदले खरिद गरेको महिन्द्रा कम्पनीका सबै स्कार्पियो जिपहरूमा प्राविधिक समस्या भेटिएको छ, जिपमा देखिएका समस्या एक साताभित्र मर्मत गरी समाधान गर्न नसके फिर्ता गरिनुपर्छ,’ , संयोजक बिँडारीले जनताटाइम्ससँग भन्नुभयो । महिन्द्राको नयाँ स्कोर्पियो जिपमा गम्भिर समस्या रहेको खबरहरू आइरहेका बेला संघीय संसदको छानबिन समितिले समेत अध्ययन गरी यस्तो प्रतिवेदन दिएको हो । छानबिन समितिले प्राविधिकहरु, सार्वजनिक खरिद ऐन र गाडी कम्पनीसँग सोधपुछ गरी तयार पारेको प्रतिवेदनमा सबै जिपका पार्ट्सहरु मिलाएर नराखिएको पाइएको जनाएको छ । संयोजक बिँडारीले तीनवटा जिपमा भने मुख्य समस्या देखिएकाले त्यसलाई फिर्ता नै गराउनु पर्ने प्रष्ट पार्नुभयो ।

संसद सचिवालयले प्रतिगाडी ५५ लाख रुपैयाँमा महिन्द्राको नेपालस्थित बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिबाट नयाँ स्कोर्पियो जिप खरिद गरेको थियो । ती स्कोर्पियो जिपका गियरमा समस्या रहेको, स्वाभाविक रुपमा स्टार्ट नहुने, झ्यालढोकाका सिसा खोल्न–लगाउन गाह्रो हुने, वाइफर र अन्य पार्ट्सहरूमा समस्या रहेको पाइएको थियो । स्कोर्पियो जिप बढी थर्कने, गियर लगाउँदा र छोड्दा फरक आवाज आउने तथा गुड्दा छत थर्कने समस्या पनि पाइएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सिसा नखुल्ने, स्पीकर अर्कै नक्कली राखिएको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

छानबिन समितिको प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।