जनता टाइम्स

२८ असार २०८०, बिहीबार १८:०१

अनलाइनबाटै राप्रपाको सदस्य बन्न सकिने, एक वर्षमा २ लाख सक्रिय सदस्य बनाउने


काठमाडौं, २८ असार । राप्रपाले आफ्नो पार्टीको सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने जनाएको छ । गत १ देखि ३ जेठसम्म चलेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संशोधनसहित पारित राजनीतिक कार्यपत्रअनुसार विभिन्न समयमा बसेको कार्य सम्पादन समिति तथा पदाधिकारीहरूको बैठकले तयार गरेको ‘राप्रपाः अब नवीन राप्रपा कार्ययोजना २०८०’अन्तर्गत केही मूलभूत बुँदाहरू सार्वजनिक गर्दै प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उनका अनुसार अनलाइनबाटै साधारण, सक्रिय सदस्य बन्न तथा आर्थिक सहयोग पनि गर्न सकिनेछ । एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याउने लक्ष्य लिएको राप्रपाले राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पुर्याउने लक्ष्य लिएको छ ।भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने, ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नेजस्ता राप्रपाले लक्ष्य लिएको छ ।

राप्रपाले लिएको लक्ष्य बुँदामा

● ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३५महिलाको संख्या सुनिश्चित गरिनेछ ।

● पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराईनेछ ।

● पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेद्वार बनाउँदा ५०५ प्राइमरी छनौट प्रक्रिया अपनाइनेछ ।

● केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९००जना नेताहरूलाई एकै साथ संगठन बिस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको छ ।

● एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३  वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ । यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्नेछ ।

● यस अन्तर्गत राजसंस्था,हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्याउने ।

● भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने ।

● पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने ।

● स्थानीय पार्टी कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ ।

● यसरी भूगोल केन्द्रीत विशेष जिम्मेवारी अन्तर्गत अध्यक्ष राजेन्द्र लिङदेन धरान उपमहानगर पालिका, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की,हेमजंग गुरुङ,मुकुन्दश्याम गिरी,उद्धव पौडेल क्रमश…

● तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदिए जिम्मेवारीबाट मुक्त हुनेछन् ।

● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने ।

● राप्रपामा अब काम नगरि नेता हुन नपाईने ब्यवस्था मिलाईएको छ ।

● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाइएको छ ।

● अबबाट विधुतीय माध्यमबाटै साधारण, सक्रीय सदस्य बन्न साथै आर्थिक सहयोग पनि गर्न सकिनेछ ।

● एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याइनेछ ।

● ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ ।

● सरकारी वेतनधारीहरूको भातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गरिनेछ ।

● विधार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढि क्रियाकलापमा संलग्न गराईनेछ । मूलतःविश्वविद्यालयमा गैरराजनीतिक संगठनका रूपमा क्रियाशील रहनेछ ।

● जिम्मेवारीमा रहेका सबैका लागि १ बाट ३ सदस्यता अभियान सञ्चालन गर्ने ।

● माथिका सबै क्रियाकलाप ६ महिना पछि पनि निरन्तर रहनेछ ।

● ६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ ।

● माथिको ६ महिने क्रियाकलाप सम्पन्न भएपछि जनजिविकाका सवाल तथा मान्यता स्थापना उद्देश्यका लागि जनदवाव सिर्जनाका लागि क्रियाकलापहरू अगाडि बढाइनेछ ।