जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार ०७:२७

एटीएम ह्याक प्रकरण : बैंकबाट झिकिएको बराबर रकम बरामद, आज प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंक


काठमाडौं, भदौ १८ । नेपाल राष्ट्र बैंकले शनिबार काठमाडौंमा भएको एटीएम लुट प्रकरणको प्रारम्भिक अनुसन्धान प्रतिवेदन आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले नेपालका निजी बैंकहरुले प्रयोग गरिरहेको सुरक्षा प्रणालीको विश्लेषणसहित घटनाबारे प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।

स्रोतका अनुसार घटना कसरी भयो र कहाँबाट नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) लाई भिसा सिस्टमले उपलब्ध गराएको स्विच ह्याक भयो भन्ने विषय प्रतिवेदनमा समेटिने छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार एटीएम लुटको घटनाको प्रारम्भिक अनुसन्धान पूरा भएको छ । अहिले प्रतिवेदन तयारीमा आफुहरु जुटेको मिश्रको भनाई छ ।

‘हामीले प्रारम्भिक अनुसन्धान पूरा गरेका छौं, बुधबार (आज) प्रतिवेदन आएसँगै धेरै कुरा खुल्नेछ,’ मिश्रले भन्नुभयो ।
मिश्रका अनुसार नेपाली बैंकहरुबाट कति पैसा निकालियो र कुन कुन बैंकहरुबाट निकालिएको हो भन्ने विषय प्रतिवेदनमा समेटिने छ । राष्ट्र बैंकले नेपाली बैंकबाट झिकिएको बराबर रकम बरामद जानकारीसमेत दिएको छ ।