जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार ०८:५४

पहाडी भेगमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अपिल


काठमाडौं, भदौ १८ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थान भन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको जनाएको छ । साथै बंगालको खाडीको उत्तर–पश्चिमि भागमा एउटा न्यून चापीय प्रणाली बनेको जनाउँदै देशभर बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा भईरहेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसम सम्बन्धी विवरणबारे जानकारी दिँदै महाशाखाले देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । साथै पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम विवरण सर्वाजनिक गर्दै महाशाखाले आज दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जानकारी दिएको छ ।

बुधबार राति देशभर बदली रही पश्चिम र मध्यका अधिकांश तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना छ । बिहीबार दिउँसो देशभर बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिम भेगका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना छ । बिहीबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने एवं पश्चिमी पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । साथै पश्चिमी पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।