जनता टाइम्स

१८ भाद्र २०७६, बुधबार ०९:१२

बाराका हवाहुरी पिडितलाई सरकारले आज घर हस्तान्तरण गर्दै


फाइल फोटो

बारा, भदौ १८

गत चैत्र १७ गते बारा र पर्सामा आएको हुरीका कारण विस्थापितले बुधवार घर पाउने भएका छन् । नेपाली सेनाको जनता आवास कार्यदलले बारामा निर्माण गरेको ८०७ र पर्सामा निर्माण गरेको ६२ वटा घर हुरीपीडितलाई हस्तान्तरण गर्न लागिएको हो ।

रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरको स्थलगत निरीक्षण गरी साचो हस्तान्तरण गर्ने कार्यक्रम नेपाली सेनाले तय गरेको छ। घर हस्तान्तरण गर्न मन्त्री पोखरेल बुधबार बिहान बारा आउने नेपाली सेनाले जानकारी दिएको छ। सेनाका अनुसार मन्त्री पोखरेलले हुरीपीडितका लागि बनेका घरको निरीक्षण गरी वीरगन्जमा आयोजना हुने कार्यक्रममा साचो हस्तान्तरण गर्नुहुनेछ ।

हुरीले बारा र पर्सामा ठूलो क्षति पुर्‍याएपछि चैत्र २१ गते मन्त्रिपरिषद् बैठकले हुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सो निर्णयपछि बारा र पर्सामा आएका नेपाली सेनाले बैशाख २१ गते शिलान्यास भएपछि घर निर्माणको काम थालेका थिए। घर निर्माणका लागि बारामा मात्रै झण्डै तीन हजार सेना खटिएका थिए।

सेना १२ समूह बनाएर घर निर्माणमा जुटेका थिए। केही घरमा विवाद देखिएपछि सेनाले ८६९ घरको काम सुरु गरेको थियो । उक्त घर प्राकृतिक प्रकोप प्रतिरोधी रहेको सेनाको भनाइ छ । (अन्नपूर्ण)