जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १९:०७

एनआरएन अमेरिका निर्वाचन : सवैको आग्रहमा अन्तरिम संविधानका मस्यौदाकार छत्रकुमारी गुरुङ बनिन उम्मेद्वार


अमेरिका, बैशाख २०

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनमा अधिकारकर्मी एवं कानूनविद् छत्रकुमारी गुरुङले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिनुभएको छ । अमेरिकामा रहेका सवै दलसँग आवद्ध अगुवाको आग्रहमा गुरुङले सो पदमा उम्मेदवारी दर्ता गरी चुनावी अभियान थाल्नुभएको हो ।

नेपालमा लामो समय मानवअधिकार र कानूनी क्षेत्रमा काम गरिसक्नुभएकी गुरुङले आफ्नो योग्यता, क्षमता, दक्षता र अनुभवलाई एनआरएनएको समग्र हितमा लगाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएको बताउनु भयो । उहाँले सबल, सक्षम र समावेशी एनआरएनए बनाउनका लागि पनि आफूले उम्मेद्वारी दिएको प्रष्ट पार्नुभयो ।

‘मेरो कार्यदक्षता, अनुभव र योग्यतालाई एनआरएनको बृहत्तर हित र सम्बृद्धिमा खर्चिनेछु, यही उदेश्यका साथ उम्मेदवारी दिउको हुँ, सवैले साथ दिने बिश्वास पनि लिएको छु,’ उम्मेदवार गुरुङले जनताटाइम्ससँग भन्नुभयो, ‘मलाई आशा छ, यो मेरो योग्यता, क्षमता र कार्यगत अनुभवलाई एनआरएनको हितमा लगाउने अवसर अवश्य नै पाउनेछु ।’

गुरुङले नेपालको अन्तरिम संविधान मस्यौदा समितिको सदस्यसमेत रहेर संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले यसअघि एनआरएनए अमेरिकाको महिला समिति र विधान समितिमा समेत काम गरिसक्नुभएको छ । विगत एघार बर्षदेखि अमेरिकाको न्यूह्यामसार राज्यमा बस्दै आउनु भएकी गुरुङले न्यूह्यामसर नेपाली समाज, अन्तराष्ट्रिय साहित्य समाज न्यूह्यामसर, एभरेष्ट लायन्स क्लब न्यूह्यामसर र गुरुङ समाज न्यूह्यामसर लगायतका दर्जनौं संघ संस्थामा विभिन्न पदमा रहेर काम गर्नुभएको छ ।

नेपाली कानून व्यवसायिको छाता संगठन नेपाल बार एशोसिएशनको पूर्व केन्द्रीय सदस्य एवं सर्वोच्च अदालतमा कानुन व्यवसायीको रुपमा यसअघि कार्यरत गुरुङ कानूनी सहयोग तथा परामर्श केन्द्र नेपाल र जनजाति महिला कानूनी सचेतना समूहको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।