सिन्धुपाल्चोक, साउन २ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटा अझै पार्टीले खटाएको कार्यक्षेत्रमा आउन अस्वीकार गर्नुभएको छ ।
पछिल्लो कार्यबिभाजनअनुसार एमालेले पूर्वमन्त्रीसमेत रहनुभएका नेता बास्कोटालाई सिन्धुपाल्चोक जिल्लाको इञ्चार्जको रुपमा खटाएको थियो । तर बाँस्कोटा अझै कार्यक्षेत्रमा नआउनु भएको हो ।
पार्टीले जिम्मेवारी तोकेपछि एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकले जिल्ला कमिटी बैठक र प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रशिक्षण कार्यक्रममा बोलाएको थियो तर बास्कोटाले आफूलाई निर्णय चित्त नबुझेको भन्दै आउन अस्वीकार गर्नुभएको छ ।
‘हामीले जिल्ला कमिटी बैठक र प्रशिक्षण कार्यक्रममा आमन्त्रण गरेको थियौं तर उहाँ (बास्कोटा) ले नआउने बताउनु भयो,’ जिल्ला कमिटीका एक पदाधिकारीले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार बास्कोटाले आफूलाई चित्त पनि नबुझेको र मन पनि नबुझेको भन्दै नआउने जानकारी दिनुभएको छ ।
‘मेरो मन बुझेको छैन, मलाई चित्त पनि बुझेको छैन, त्यसैले म आउँदिन, अवदेखि नबोलाउनु होला,’ बास्कोटाको भनाई उधृत गर्दै ती पदाधिकारीले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालय बैठकपछि जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा बास्कोटालाई गृहजिल्ला काभ्रेबाट छिमेकी जिल्ला सिन्धुपाल्चोकको इञ्चार्जका रुपमा जिम्मेवारी तोकिएको थियो । सो निर्णयलगत्तै बास्कोटाले कायबिभाजनप्रति कडा आपत्ति जनाउँदै नेताहरुलाई पञ्चायतकालिन अञ्चलाधीशको संज्ञा दिनुभएको थियो ।
पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको कार्यबिभाजन गरी अन्तरपार्टी निर्देशन जारी गरेलगत्तै बास्कोटाले ‘अञ्चलाधीश’ बन्ने काम भएको भन्दै सामाजिक सञ्जालमै कडा आपत्ति जनाउनु भएको हो । सो निर्णयलाई बास्कोटाले गृह मन्त्रालयले सिडिओ सरुवा गरेझै गरिएको भन्दै आपत्ति जनाउनु भएको थियो ।
बास्कोटाले ट्वीरमा लेख्नुभएको छ, ‘आफूलाई के मात्र ठान्छन हो कोही कोही त गृहले सिडिओ सरुवा गरेझै बहुदलीय राजनीतिमा मान्छेको सरुवा गर्न मिल्दैन नि।कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । ऊखानै छ–एक दिनको पाहुना मीठोमीठो खा, दुई दिनको पाहुना जे सुकै खा, तीन दिनको पाहुना जतासुकै जा !! हुने त्यही हो, कुरा बुझे भैगो ।’
बास्कोटाले ट्वीटमा आएको प्रश्नको जवाफ दिँदै पुनः प्रतिक्रिया दिनुभएको छ, ‘अञ्चलाधिश बनेपछि भन्ने र गर्ने त्यही हो के को कडा ?’ सोही अडान राख्दै बास्कोटा पार्टी निर्णयलाई चुनौती दिएर खटाइएको कार्यक्षेत्रमा नआउनु भएको हो ।
यो समाचार पनि पढनोस
कार्यबिभाजनप्रति गोकुल बास्कोटाको कडा आपत्ति, नेताहरु ‘अञ्चलाधीश’ बनेको आरोप













प्रतिक्रिया दिनुहोस्