काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडी बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने बताउनुभएको छ । उहाँले कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान पुग्नुपर्ने धारणा राख्नुभयो । पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उहाँले त्यसो नगरि गुनासो बाँकी रहिरहने बताउनुभयो । कांग्रेस बैठकले जनतालाई के दिने ? भन्ने बारे पनि बैठकले बोल्नुपर्ने उहाँको भनाई थियो ।
‘पार्टी विधान नियमअनुसार चल्नुपर्छ भन्ने कुरा आएको छ। यो त मैले १०औं महाधिवेशनदेखि भन्दै आएको छु । कार्यकताृलाई चित्तबुझ्ने ठाउँमा पुर्याउने हो भने पार्टी विधानअनुसार चलाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘राम्रो पर्फमेन्स गर्ने, जनता र कार्यकर्तालाई चित्त बुझ्ने अवस्थामा पुर्याउने हो भने पार्टीलाई विधानअनुसार चलाउनुपर्छ ।’ उहाँले पार्टीमा समस्या भयो भनेर मात्र नहुने भन्दै अब विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे समस्या समाधान हुने पनि बताउनुभयो ।
०४६ अगाडी र पछाडीको पुस्तामा फरक रहेको पनि उहाँले बताउनुभयो । २०४६ पछि जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य मान्यताको राजनीति कमजोर बनेको सिंहको भनाई थियो । त्यस्तै उहाँले स्थानीय तह, प्रदेश र संघमा पार्टीबाट निर्वाचितहरुबाट संगठनमा के भयो ? भन्दै प्रश्न पनि गर्नुभयो । चुनावमा जाँदा बनाएको घोषणापत्र अनुसार काम नभएकोतर्फ पनि सिंहले ध्यानाकर्षण गराउनुभयो । पार्टीबाट बनेका जनप्रतिनिधि र पार्टी संरचनाबिचको समन्वयमा पनि उहाँले जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्