जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार ०७:००

अघि बढ्यो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी


काठमाडौं, भदौ १९ । चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउने हुनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणका र राजनीतिक सम्बन्ध विस्तार विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लाग्नुभएको हो ।

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा भएको सम्झौताको म्याद सकिँदै छ। २०७४ वैशाख २९ मा भएको सम्झौताको म्याद तीन वर्षसम्म मात्र छ। अहिलेसम्म सम्झौताअनुसारका कुनै पनि चिनियाँ परियोजना अघि बढेको छैन। विदेशमन्त्री वाङको भ्रमणलाई बीआरआईको प्रस्तावित परियोजना कार्यान्वयनसँग हेर्न सकिने परराष्ट्र अधिकारीले बताएका छन्।

विदेशमन्त्री वाङले भ्रमण राजनीतिक केन्द्रित बनाउने निश्चित छ। उनले नेपालमा रहँदा समकक्षी ज्ञवालीसँग दुईपक्षीय औपचारिक वार्ता गर्नुहुनेछ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

सी कात्तिकमा आउने

चिनियाँ राष्ट्रपति सी कात्तिक १ मा दक्षिण भारत पुग्ने कार्यक्रम छ। उहाँले त्यहाँ जाँदा वा त्यहाँबाट फर्कंदा नेपाल भमण गर्न सक्ने भएकाले विदेशमन्त्री वाङको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। सी र भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको उहान वार्ताको दोस्रो चरण आगामी कात्तिकमा दक्षिण भारतमा हुँदैछ। सीको नेपाल भ्रमण सीमामा सडक र रेल सञ्जाल विस्तारमा केन्द्रित हुनेछ। यस्तै नेपाल–चीन–भारत त्रिपक्षीय सहकार्यबारे पनि वार्ता हुन सक्ने अधिकारीहरूले बताएका छन्।