जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १०:३९

मिस्टर नेपाल–२०२३ को उपाधि पाइलट समर्पण कार्कीलाई


काठमाडौं, ७ साउन । विराटनगरका समर्पण कार्की मिस्टर नेपाल–२०२३ बन्नुभएको छ । शनिबार भएको एक कार्यक्रममा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले मिस्टर नेपालको उपाधि जित हात पार्नुभएको हो । पेशाले पाइलट कार्कीले १८ प्रतियोगीलाई पछि पार्दै शीर्ष विजेता बन्न सफल हुनुभएको हो । दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा शनिबार नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको एक भब्य समारोहमा कार्कीलाई मिस्टर नेपाल नुतन श्रेष्ठले ताज लगाइदिनुभएको थियो ।

युवाको प्रेरणाको स्रोत बन्ने उद्देश्यसहित प्रतियोगीतामा सहभागी हुनुभएको कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधिसमेत हासिल गर्नुभयो । प्रतियोगीतामा उहाँले नगद ५ लाख बराबरको उपहारसहित ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गर्नुभएको हो । समर्पण पेशाले पाइलट हुनुहुन्छ ।

प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फर्स्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा. विजय दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित हुनुभएको थियो । अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारीलगायत निर्णायक रहेको प्रतियोगीतामा मोस्ट पपुलर रमननाथ गिरी, मिस्टर एक्टिभ र बेस्ट फिजिक प्रेम कुमार यादव, बेस्ट स्किन मिकाज कार्की, बेस्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात पार्नुभयो ।

‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ। युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगीतामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्टलगायत पेशामा रहनुभएकाहरु प्रतियोगीका रुपमा रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताउनुभयो ।

स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । यो पटक मिस्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’को नामबाट आयोजना भएको थियो ।