जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार ०८:१०

नेकपाका प्रचार विभाग प्रमुख र उपप्रमुखले सम्हाले कार्यभार, अध्यक्ष प्रचण्डले दिए यस्तो निर्देशन


काठमाडौं, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापाले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा बुधबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच श्रेष्ठ र थापाले कार्यभार सम्हाल्नुभएको हो ।

तत्कालीन नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई र सचिव विष्णु रिजाल तथा नेकपा (माओवादी केन्द्र) का प्रचार प्रमुख पम्फा भुसालले आ–आफ्नो अनुभवसहित नयाँ कार्यविभाजनअन्तर्गत विभागीय जिम्मेवारी पाउनुभएका श्रेष्ठ र थापालाई माइन्यूटसहित जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्र र अधिनायकत्वबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक औल्याउनु भयो । प्रचारलाई व्यवस्थित गर्नुपर्ने भन्दै नयाँ जिम्मेवारी पाएका दुवै नेतालाई अब्बल भुमिकामा रहन शुभकामना पनि दिनुभयो ।

कार्यक्रममा नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेताहरू युवराज ज्ञवाली, प्रदीप नेपाल, अग्नि सापकोटा, पम्फा भुसाल, रघुजी पन्त, प्रेस संगठन नेपालका इन्चार्ज राजेन्द्र गौतम, सहइन्चार्जद्वय महेश्वर दाहाल र ओम शर्मा तथा सहसंयोजक गणेश बस्नेतले पनि सुझाबसहितको शुभकामना दिनुभयो । श्रेष्ठ र थापाले जिम्मेवारीअनुसार विभागले योजनाबद्ध र सुव्यवस्थित रूपमा काम गर्ने बताउनु भयो।