जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार ०८:२५

कर्मचारीलाई मुख्यमन्त्री गुरुङको निर्देशन : चेन अफ कमाण्ड काममा खोज्नुस, अरु कुरामा होइन


पोखरा, भदौ १९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका कार्यलाय प्रमुखहरुलाई पोखरा बोलाएर मुख्यमन्त्री गुरुङले विगतको कार्यशैली र मानसिकताले अब विकास संभव नभएको भन्दै यसमा परिवर्तन गर्न निर्देशन दिनुभएको हो ।

देशमा ठूला‐ठूला परिवर्तन भएपनि कर्मचारीतन्त्र र सुरक्षा निकाय पञ्चायतकालीन ढाँचामा चलिरहेको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको उहाँको भनाई छ । मुख्यमन्त्री गुरुङले समान्तबादी सोचाई अझै कर्मचारीतन्त्रमा रहेको बताउँदै यो मानसिकता परिवर्तन आवश्यक रहेको प्रष्ट पार्नुभयो । ‘अझै पनि हाकिमहरुलाई मालिक मान्नुपर्ने अवस्था कर्मचारीतन्त्रमा छ, चेन अफ कमाण्ड अब काममा खोज्नुपर्छ अरु कुरामा होइन ।’

कर्मचारीतन्त्र अझै नतिजा भन्दा प्रक्रियामुखी भैरहेको बताउदै यसले गर्दा जनताले सास्ती पाउने क्रम नरोकिएको उहाँको भनाइ छ । ‘हामी नतिजा हेर्दैनौ विधि र प्रक्रिया मात्र हेर्छाैं, जनतालाई सुख दिनका लागि एउटा सरकारको ठाउमा ७ सय ६१ वटा सरकार बनायौं तर कर्मचारीको काम गर्ने शैली उस्तै छ,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो । स्टाफ कलेजसँगको सहकार्यमा कर्मचारीको संरचना हेरफेर गर्ने विषयमा पनि प्रदेशले छलफल चलाइरहेको जानकारी उहाँले दिनुभयो । भ्रष्टाचारमा ममिलामा प्रदेश सरकार कठोर ढंगले प्रस्तुत हुने संकेत पनि मुख्यमन्त्री गुरुङले दिनुभयो ।

गण्डकी प्रदेशका कर्मचारी विभिन्न काण्डमा अख्तियारको फन्दामा पर्दा आफुलाई आश्यर्च लागेको बताउदै यस्तो साह्य नहुने उहाँको भनाई थियो । ‘मलाई लाग्थ्यो मेरो प्रदेशका कर्मचारीमा भ्रष्टाचार काण्डमा मुछिएका छैनन, तर पछिल्लो समयमा खानेपानीको हाकिम, स्वास्थ्य कार्यालय कर्मचारी अख्तियारले रंगेहात समातिए भन्ने खबर सुन्नुपर्यो, टाउकोमा हिउँको डल्लो बज्रिए जस्तै भयो, यस्तालाई अब अख्यितार भन्दा पहिले प्रदेशले कारवाही गर्छ,’ मुख्यमन्त्री गुरुङको भनाई थियो ।

मुख्यमन्त्री गुरुङले जनशक्ति र स्रोत साधनको कमी हुन नदिने समेत बताउनुभयो । अन्य प्रदेशको भन्दा कुनै सेवा सुविधा कमी हुन नदिने भन्दै मुख्यमन्त्री गुरुङले जनतालाई सेवा दिन कुरामा कर्मचारी कञ्जुस्याई गर्न नहुने बताउनु भयो । उहाँले कर्मचारीको क्षमता बृद्धिका लागि आधुनिक प्रविधियुक्त तालिमको व्यवास्था गरिने जानकारी पनि दिनुभयो । यसपटक प्रदेशले ९५ प्रतिशत बजेट कार्यान्वयनको लक्ष्य राखेको स्मरण गराउदै मुख्यमन्त्री गुरुङ त्यसका लागि सवै मन्त्रालयले जेठ मसान्तसम्मको कार्ययोजना बनाएको सुनाउनुभयो ।

सोही कार्ययोजनाको अधारमा कर्मचारीलाई काममा लाग्न निर्देशन पनि दिनुभयो । कार्यक्रममा आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङले चालु आर्थिक बर्षमा जेठ मसान्तसम्म मात्र विकास निर्माण गरिने भएकोले सोही अनुसार काममा लाग्न निर्देशन दिनुभयो । उहाँले असारे बजेटको वेथिति हटाउन आफुहरु लागिपरेको भन्दै यसमा सोही अनुसार विकास निर्माणको काम गराउन समेत निर्देशन दिनुभएको थियो ।