जनता टाइम्स

१० श्रावण २०८०, बुधबार १९:०२

लुम्बिनी प्रदेशमा नि:शुल्क आँखाको नानी प्रत्यारोपण गरिने


दाङ, १० साउन । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो बनेको छ ।

आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले बताउनुभयो ।

कार्यविधि तयार गरेर कार्यक्रम अब लागू गरिने स्वास्थ्यमन्त्री खनाल जानकारी दिनुभयो । यसका लागि कार्यविधि बनाउने प्रक्रिया सुरु भइसकेको उहाँको भनाइ छ । आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरी कार्यविधि तयार भइरहेको छ ।