जनता टाइम्स

१२ श्रावण २०८०, शुक्रबार ०६:२९

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै


काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज विहान १०ः०५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आई पुग्नुहुनेछ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्नुभएको थियो ।

साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू बिचमा भेटबार्तासमेत भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतलगायतको सहभागिता रहेको थियो । साथै, बिमानस्थलमा प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनसमेत गर्ने जानकारी दिएका छन् ।