काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताका अपेक्षा धेरै रहेको र सरकार सो अनुरूप चल्न नसकेको बताउनुभएको हो । सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नु पर्ने आवश्यकता देखिएको महरले औंल्याउनुभयो ।
‘कांग्रेस गठबन्धनको सबै भन्दा ठूलो दल हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल हुँदा त्यसको दोष कांग्रेसको टाउकोमा पनि आउँछ । हामीले चुनावको समयमा जनतासामु गरेका वाचा र प्रतिबद्धता भुल्नु हुँदैन । वर्तमान सरकारले अपेक्षाकृत रूपमा कामको गति समात्न सकेको छैन। त्यसैले सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपरे त्यो पनि गरौं,’ उहाँले भन्नुभयो ।
मन्त्रिपरिषद्बाट कुनै निर्णय हुने वा मन्त्रीहरूले निर्देशन दिने काम मात्र गर्न नहुने बताउँदै उहाँले जनताका अपेक्षा के छन् र मुलुकका लागि तत्काल आवश्यक प्राथमिकताको विषय के छ ? भन्ने पहिचान गरेर सरकारले सो अनुरूप काम गर्न सक्नुपर्ने बताउनुभयो । ‘अहिले पशु चौपायामा लागेको लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ । लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसके छ । यसले किसानहरू ठूलो मारमा परेका छन्। सरकारले सुरुमै संक्रमित पशुमा खोप लगाउन सकेको भए अहिलेको अवस्था आउने थिएन।
सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो । त्यो हुन सकेन,’ महरले भन्नुभयो । किसानलाई हाम्रा लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन सक्ने गरी सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो । यो एउटा उदाहरणमात्रै भएको बताउँदै उहाँले यस्ता जनजीवनसँग जोडिएका थुप्रै सवालमा सरकार गम्भीर बन्नु पर्ने बताउनुभयो । ‘किसानलाई समयमै मल खादको व्यवस्था गरिनु पर्छ । वर्षातको समय छ । डुबान र बाढी पहिरोको जोखिम छ । दैविक प्रकोपबाट आउन सक्ने सम्भावित जोखिमबाट हुने क्षतिलाई कम गर्न सरकारले बेलैमा उच्च तयारी गर्नुपर्छ,’ महरले भन्नुभयो ।
यसका साथै भ्रष्टाचार न्यूनीकरणमा समेत सरकारको ध्यान उच्चताका साथ जानुपर्ने महरले बताउनुभयो । ‘विमानस्थलबाट कुन्टलका कुन्टल सुन भित्रिएका जनताले सरकारप्रति प्रश्न उठाउनु स्वभाविक हो । यो अवस्थाको अन्त्यका लागि सरकारले कडा कदम चाल्नुपर्छ । जनताको मुख होइन, तस्करले सुन भित्र्याउने दुलो टाल्नुपर्छ,’ उहाँले थप्नुभयो ।
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीलाई पनि उनले जनपक्षीय काम गर्न सरकारलाई झकझक्याउन आग्रह गर्नुभएको छ । गठबन्धन दलकै नेताहरूबाट चितवनका हरेक संघ संस्थामा कांग्रेसलाई बाइपास गर्न खोजिएको बताउँदै नेता महरले त्यो आफूहरूका लागि स्वीकार्य नहुने बताउनुभएको छ । गठबन्धनको सबै भन्दा ठूलो सत्ता साझेदार दल कांग्रेस नै रहेकाले चितवनमा कांग्रेसलाई बाइपास गर्न खोजिए त्यो कसैका लागि राम्रो नहुने बताउनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्