जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार १९:२५

क्वीन्टल सुन तस्करी गर्ने गिरोहसँग माओवादी नेताको कनेक्सन भेटियो : बर्षमान दम्पत्तिसँगै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि तानिए


बिमानस्थलबाट भइरहेको सुन तस्करीमा माओवादी नेताहरुको कनेक्शन देखिएको छ । इसिगरेटभित्र लुकाएर ल्याइएको सुन तस्करीमा महरा बाबुछोराको संलग्नता देखिएकोमा अहिले क्वीन्टल सुन तस्करीमा संलग्न गिरोहसँग पुनदम्पती प र पूर्वउपराष्ट्रपति पुनको कनेक्शन देखिएको हो ।

काठमाडौं, साउन १४ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सुन तस्करी गर्दै आएको गिरोहसँग सत्तारुढ नेकपा माओवादी केन्द्रकै नेताहरुको घनिष्ठता र संलग्नता रहेको तथ्य खुलेको छ ।  क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानबाट चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ परेसँगै माओवादी नेताहरुको संलग्नता खुलेको हो ।

राजस्व अनुसन्धान विभागले करीब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा आज दावालाई पक्राउ गरेको हो । राजस्व अनुसन्धान विभागले ठमेलबाट आज चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेसँगै सुन तस्करी प्रकरणमा माओवादीका नेताहरुको ‘कनेक्सन’ देखिएको हो ।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवै च्यानल क्रस भएर सिनामंगलस्थित सडकमा समातिएको करीब एक क्विन्टल सुनको छानविनमा आज ठूलो माछा फेला परेको हो । ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने मतियार हुन । दावा माओवादी नेताहरुकै संरक्षणमा नेपालमा बसेर लामो समयदेखि अबैध धन्दा चलाउँदै आएका ब्यक्ति समेत हुन ।

आज पक्राउ परेको दावाको नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन, उहाँकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती मगर र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग निकै घनिष्ट सम्बन्ध रहेको पाइएको छ । उहाँहरुकै आडमा दावाले नेपालमा अबैध धन्दा चलाएको र पछिल्लो समय सुन तस्करीमा लागेको अनुसन्धानमा सहभागी एक अधिकारीले जनताटाइम्स डटकमलाई बताए । उनका अनुसार यसअघि पनि थुप्रै अपराधमा संलग्न भएका दावालाई राजनीतिक संरक्षणकै कारण जोगाउने काम भएको छ ।

क्वीन्टल सुन बरामद गर्नुअघि नै माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उहाँका छोरा राहुल महराको संलग्नता देखिएको थियो । इसिगरेटभित्र लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा महरा बाबुछोराको संलग्नता देखिए पछि प्रहरीलाई बयानसमेत नलिन निर्देशन दिएर जोगाउने काम भएको थियो ।

पढनोस यो समाचार

सुन तस्करीको अनुसन्धानमा गृहमन्त्री नै बाधक बनेको खुलासा, यस्तो छ तथ्य-प्रमाण

एक क्वीन्टल सुन तस्करी प्रकरणमा दावा पक्राउ परेसँगै आजबाट नयाँ मोड लिएको छ । उनीसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । राजस्व अनुसन्धान विभागले यसबीचमा गोदाम, सुन गाल्ने मेसिनलगायत सामान बरामद गरिसकेको छ । विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई पक्राउ गरेपनि उनकी पत्नी तथा मुख्य योजनाकार अमला रोकालाई पहिला नै सूचना दिएर भगाइएको स्रोतले बतायो ।

भियना होटल चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको भन्दै २०७९ साउन ११ गते प्रहरीले यस होटलमा छापा मारेको थियो । ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद भएको थियो। त्यसबेला मञ्जिल श्रेष्ठ र अमला रोकाले घरधनी रत्नमान श्रेष्ठसँग होटल चलाउन सम्झौता गरेको भेटिएको थियो ।

त्यति वेला प्रहरीले अमलाको संलग्नता खुल्ने प्रमाण भेटेको थियो। तर माओवादी नेताहरुकै दवावमा जिल्ला प्रहरी परिसर, काठमाडौंले मञ्जिललाई प्रतिवादी बनाए पनि अमलालाई उन्मुक्ति दिएको थियो । ‘बिभाग टोलीले छापा मार्ने सूचना कतैबाट लिक भएको कारण अमलालाई भगाउने काम भयो, यही कारण पनि तस्करीमा उच्च तहको संलग्नता छ भन्ने देखिन्छ, तस्करीमा राजनीतिक कनेक्शन देखियो भन्ने यो बलियो प्रमाण हो,’ अनुसन्धानमा सहभागी अर्का अधिकारीले भने ।

सुन तस्करीको आरोपमा पक्राउ परेका बेल्जियमका नागरिक दावासँग नेपाली नागरिकता र राहदानी पनि रहेको छ । उनले नेपाली नागरिकता काभ्रेबाट लिएको पाइएको छ । दावाले २०७४ पुस २० गते नेपाली नागरिकता लिएका हुन । उनले निमा तामाङ राखेर नागरिकता लिएको पाइएको छ ।

नागरिकता लिएको एक महीनापछि नै दावाले नेपाली राहदानी लिएका थिए । २०७५ माघ ११ गते दावा तामाङको नाममा राहदानी लिएको देखिएको छ । किर्ते गरेर नेपाली नागरिकता र राहदानी लिए पनि राजनीतिक संरक्षणकै कारण उनी कार्वाहीबाट जोगिदै आएका छन । दावाले अहिलेसम्म माओवादीका नेताहरुकै आडमा यस्तो अबैध काम गर्दै आएको तथ्यसमेत उजागर भइसकेको छ ।

 

अमला दावासँग वैवाहिक सम्बन्ध गाँसेकी रोल्पाको थवाङ निवासी हुन । उनको पुन परिवारसँग मात्र नभई माओवादीका अन्य नेताहरुसँग समेत घनिष्ट सम्बन्ध रहेको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसारसवारी साधनका पार्टपुर्जाभित्र अवैध सुन मगाउने रेडी ट्रेड यही गिरोहले नेपालीको नाममा दर्ता गरेको पाइएको छ । यो कम्पनी दोलखाका दिलीप भुजेलको नाममा दर्ता छ । तर, भुजेल मोटरसाइकलको पार्टपुर्जा आयात गर्ने कम्पनी चलाउने हैसियतका नभएको अनुसन्धानमा देखिएको छ ।

भुजेलले काठमाडौंमा घर बनाउने कामदारका रूपमा मजदूरी गर्दै आएका छन । तर यही गिरोहले उनको नागरिकता लिएर कम्पनी खोली अबैध काम गरेको देखिएको छ । दावा र अमलाले खोलेको कम्पनीमा बर्षमानका परिवारका केही सदस्य पनि सञ्चालक रहेको स्रोतले बताएको छ ।