काठमाडौं, साउन १८ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै संलग्नता रहेको हुनसक्ने सार्वजनिक टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले प्रधानमन्त्रीकै संलग्नता रहेको आशंका उब्जिएको बताउनु भएको हो ।
सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको कोइरालाले बताउनु भयो । प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण खोज्न सञ्चार माध्यमहरुलाई सुझावसमेत दिनुभयो ।
सत्ता संरक्षित भएकै कारण सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान आझेलमा पर्ने ठोकुवा पनि उहाँले गर्नुभयो । भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको भन्दै उहाँले यो प्रकरण पनि यसैगरी सेलाउने खेल भइरहेको बताउनु भयो । नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको समेत बताउनु भएको छ ।
‘भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ । एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ । भूटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भूटानी शरणार्थी प्रकरण रोकियो । झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ,’ कोइरालाले भन्नुभयो, ‘सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्व हुन्छ। सुनकाण्डमा त नेपालका बजार धेरै ठूलो छैन । यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनैपनि काण्ड निस्कर्षमा पुग्दैन, किनभने माथिका मानिस सहभागी हुन्छन । सुन काण्डमा रोचक के छ भने सिबिआई इन्भल्व छैन । राजश्व अनुसन्धान मात्रै इन्भल्व छ । सिआईबी इन्भल्व छैन, त्यो इन्ट्रेस्टिङ छ । राजश्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अण्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन। त्यहाँ डिजी जो हुनुहुन्छ, सुन काण्ड भन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पिए हुनुहुन्थ्यो । के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ ।’













प्रतिक्रिया दिनुहोस्