कञ्चनपुर, १८ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । ‘जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन’, उहाँले भन्नुभयो,‘विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।’
कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ । ‘न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ’, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भन्नुभयो,‘भुइँमा पनि ठूला–ठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।’
हावाले उढाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् । पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको जानकारी दिँदै उहाँले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
उहाँका अनुसार वर्षात्का समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ । ‘खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?’ विद्यार्थी वर्षा ओडले भन्नुभयो,‘विद्यालयको पर्खाल नहुँदा ससाना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।’ नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । ‘विद्यालयमा शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ’, उहाँले भन्नुभयो,‘खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।’













प्रतिक्रिया दिनुहोस्