जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार २१:१९

कालिञ्चोक क्षेत्रका अवैध संरचना हटाउन दोस्रो पटक सूचना, अटेर गरे कार्वाही गर्ने चेतावनी


दोलखा, भदौं १९ । दोलखाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रका अवैध घरटहरा तथा संरचना हटाउन जिल्ला प्रशासन कार्यालयले दोस्रो पटक सूचना जारी गरेको छ । पहिलोपटक जारी सूचनालाई बेवास्ता गरेपछि प्रशासनले दोस्रोपटक सूचना जारी गरेको हो । सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको प्राकृतिक मनोरमस्थल कालिञ्चोकमा एक सय भन्दा बढी अवैध संरचनाहरु छन् ।

केबलकारदेखि ठूला लगानीका होटलहरुले कालिञ्चोकको बेसक्याम्प ठानिने कुरीको मैदान भरिएका छन् । त्यस्तै घ्याङडाँडाको मैदानमा पनि घरटहरा थपिदैछ । तीन हजार आठ सय ४२ मिटर अग्लो कालिञ्चोक मन्दिरको केही तलपनि अतिक्रमण बढ्न थालेपछि जिल्ला प्रशासनले पटकपटक सूचना जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

मन्दिर दर्शन र रमाइलो दृष्य हेर्न मानिसहरुको घुइँचो लाग्ने उक्त क्षेत्र सामुदायिक वन क्षेत्र की गुठी संस्थानको भन्ने विवाद कायमै छ । गुठी संस्थानको स्थानीय जिम्मेवार प्रतिनिधि प्रमुख जिल्ला अधिकारीलाई बनाइएको छ । तर, जिल्ला वन कार्यालयले आफ्नो पेरीफेरी भन्दै उक्त सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठकहरुमा फरक मत दर्ज गर्दै आएको छ ।

दुई सरकारी निकायबीचको विवादको फाइदा लिदै झनझन संरचनाहरु थपिदै गएको स्थानीयबासीको आरोप छ । पछिल्ला समयमा गुठीसंस्थानले आफ्नो नियमअनुसार जग्गाहरु लिजमा दिन थालेपछि अनावश्यक अतिक्रमण बढेको स्थानीयको भनाई छ । गुठी संस्थाले करिब ४२ वटा घर टहरा तथा एउटा केबल कारलाई मात्रै लिज दिएको दाबी गरेको छ । करिब तीन महिनाअघि जिल्ला प्रशासन कार्यालयले तयार पारेको सूचीमा करिब एक सय घर टहराहरु थिए ।

गुठी संस्थानले लिजमा नियमसम्मत दिएको संरचनाबाहेक अन्यलाई अवैध ठान्छ । तर जिल्ला वनले भने उक्त क्षेत्रमा बनिरहेको सबै घरटहरा र संरचना अवैध दाबी गर्दै आएको छ । जिल्ला वनले गुठी संस्थानबाट स्वीकृति लिएर सञ्चालित केबल कारसमेत भत्काउनुपर्ने जिकिर गर्दै आएको छ ।

पछिल्लो समयमा संरचना थपिने क्रम बढेपछि प्रजिअसहितको सुरक्षा टोलीले निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा प्रहरी चौकी राख्न घडेरी बनाइएको जग्गासमेत अतिक्रमणमा परेको पाइएको थियो । अवैध रुममा ठड्याइएका घर टहरा र अन्य संरचना नभत्काइ सूचनालाई अटेर गरे कारबाही गरिने चेतावनी जिल्ला प्रशासनले दिएको छ ।