जनता टाइम्स

२५ श्रावण २०८०, बिहीबार १६:०८

नेपाल समावेशितामा विकसित देशभन्दा पनि अगाडि छ, प्राप्त उपलब्धिमा गर्व गर्नुपर्छ : केपी ओली


काठमाडौं, साउन २५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मानव जातिले न्याय र समानताको लागि कठिन र लामो यात्रा पार गरेर आएको बताउनुभएको छ ।

विश्व आदिवासी दिवसको अवसरमा बिहीबार पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुरक्षा, सम्मान, समृद्धिको लागि मानिसले संघर्ष गर्दे आएको बताउनुभयो । ‘विभेद, अपमान, असुरक्षा, अशान्ति र दुःख कष्टलाई समाप्त पार्ने संघर्ष हजारौँ वर्षदेखि मानव जातिले लड्दै आयो, आज हामी एउटा खास बिन्दुमा पुगेका छौँ, अधिकार सम्पन्न हुने बिन्दुमा पुगेका छौँ’, उहाँले भन्नुभयो ।

केही केही ठाउँमा अनेक खालका शक्तिसँग सम्झौता गर्नु परेको भए पनि नेपालको संविधानले समानता र समावेशिताको बाटो खोलेको उहाँले प्रष्ट पार्नुभयो । सफलता सहित अघि बढेको बिन्दुमा नेपाल पुगेको उहाँले बताउनुभयो । नेपालको संविधानले आदिवासी, जनजाति, पिछडा क्षेत्र, वर्ग र समुदायको लागि सकारात्मक विभेद सहितको विशेष व्यवस्था गरेको उहाँले प्रष्ट पार्नुभयो । नेपाललाई समानताको पाठ सिकाउने देशले पनि नेपालले जस्तो समावेशी अभ्यास गर्न नसकेका उहाँले बताउनुभयो । ‘ हामी अरू देश भन्दा निक्कै अगाडि छौँ, हामीले प्राप्त गरेको उपलब्धिमा गर्व गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

यति हुँदा हुँदै पनि नेपालले राष्ट्रिय उपलब्धिको अभिवृद्धिको क्षेत्रमा ध्यान दिनु पर्ने ओलीले बताउनुभयो । अहिले पहिचानको राजनीति भन्दै केही शक्ति साम्प्रदायिक सद्भाव भड्काउने काममा लागेका ओलीले बताउनुभयो । जात, धर्म, सम्प्रदायको सेन्टिमेन्टलमा खेरले २०५२ सालदेखि नै हिंसा भड्काउन लागेकाहरू अहिले पनि त्यसमा नै तल्लीन रहेको उहाँको भनाइ छ ।