जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार १३:२२

सत्ता र प्रतिपक्षी सांसद उठेर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौं, २६ साउन । आज राखिएको राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोज्नुभएको थियो । तर, प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु उठेर विरोध जनाए ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसद उठेर विरोध जनाए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षीलाई बोल्न समय दिएपछि यसको विरोधमा सत्तापक्ष सांसदले उठेर विरोध जनाए । दुवै पक्षका सांसद उठेर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले बस्न आग्रह गर्नुभयो ।

उठेरै संसद चलाउने भएपछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि उहाँले व्यंग्य पनि गर्नुभयो । तर, दुवै पक्षका सांसद बस्न मानेनन् । सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यसूचीमा राखेका सबै कार्यक्रम हटाएको जानकारी दिँदै बैठकलाई साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गर्नुभयो ।