जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार १४:४५

विभिन्न मुलुक पठाईदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ


काठमाडौं, २६ साउन । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर, सुनसरी रामधुनी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ४० वर्षीय सन्दिप कुमार चौधरी र धादिङ थाक्रे गाउँपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।

उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक–पटक २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको, चौधरीले १ जनालाई फ्रान्स पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको र अर्यालले १ जनालाई क्रोसिया पठाई फुड डेलिभरीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं नयाँ बसपार्कबाट बुधबार, चौधरीलाई काठमाडौं नयाँ बानेश्वरबाट बिहीबार तथा अर्याललाई काठमाडौं टोखा नगरपालिका–७ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।