जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार १४:५८

लागुऔषधसहित चारजना पक्राउ


काठमाडौं, २६ साउन । रौतहटको चन्द्रपुर नगरपालिका–१ बस्ने ५० वर्षीय पूर्णबहादुर तामाङलाई अवैध लागूऔषध गाँजा १६ किलोसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पौरईबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कार्यालय परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ५ हजार १ सय १० रूपैयाँसहित सोही नगरपालिका–४ किरणनाल बस्ने ३२ वर्षीय रेशम जैसीलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उक्त परिसरभित्र पार्किङ गरी राखेको भे.१ च १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक जैसीलाई एम्बुलेन्ससहित पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २१ वर्षीया मनिषा दनुवार र उनकै श्रीमान २१ वर्षीय अभय राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।