जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार ११:५५

तीन दशक जिम्बाब्वेमा शासन गरेका मुगाबेको निधन


काठमाडौं, भदौ २०

जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री निर्वाचित भएका थिए भने पछि राष्ट्रपति भए ।

उनले तीन दशक देशमा शासन गरेका थिए। उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार हुँदै थियो । सन् २०१७ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो । उनलाई सेनाले नजरबन्द गरेको थियो । जिम्बाब्वेका शिक्षासचिवले मुगाबेको मृत्युमा शोक प्रकट गर्द ट्वीट गरेका छन् ।

मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो । देश स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे जिम्बाब्वेको प्रधानमन्त्री निर्वाचित भए । त्यसपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बने । आफ्नो शासनकालका सुरुका वर्षमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई पहुँच दिएर प्रशंसा बटुले ।

तर उनको विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भयो । पछि उनको शासनकाल अख्तियार दुरुपयोग र भ्रष्टाचारका कारण विवादास्पद बन्यो । उनका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले मुगाबेको निधनमा शोक प्रकट गर्दै उनलाई ‘जिम्बाव्वे स्थापना गर्ने पिता’ तथा ‘मुक्तिका प्रतीक’ को सङ्ज्ञा दिएका छन् । सन् १९७३ मा कारागारभित्र हुँदा नै उनी जिम्बाब्वे अफ्रकिन न्याश्नल यूनिअन (जानु) को अध्यक्ष निर्वाचित भएका थिए। उनी जानुका संस्थाका संस्थापक सदस्य थिए ।