जनता टाइम्स

२७ श्रावण २०८०, शनिबार ०८:१३

इङ्ग्लिस प्रिमियर लिग :म्यानचेस्टर ‍सिटीको विजयी सुरुवात


काठमाडौं, साउन २७ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा सिटीले बर्नलीलाई ३–० गोलले हरायो । सिटी साविक उपाधि विजेता टोली हो ।

गएराति बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा सिटीका इर्लिङ हालान्डले दुई तथा रोड्रीले एक गोल गरे । हालान्डले खेलको चौथो र ३६औँ मिनेटमा तथा रोड्रीले ७५औँ मिनेटमा गोल गरे । जितसँगै सिटीले पहिलो खेलबाट तीन अङ्क जोडेको छ । बर्नली प्रिमियर लिगमा यसै सिजन बढुवा भएको हो ।

सिटीले गएको सिजन युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी तीन वटा उपाधि जितेको थियो । सिटी एकै सिजन यी सबै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले यी ३ वटै उपाधि जितेको थियो । प्रिमियर लिगमा आज ६ वटा खेल हुँदैछन् ।