काठमाडौं, साउन २७ । भीमदत्त राजमार्ग पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ। सोमवार राजमार्गको बूढीतोला खण्डमा गएको पहिरोका कारण सडक सञ्चालनमा आउन नसकेको हो ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ । दुईतर्फी गाडी सञ्चालन हुन नसकेपछि यात्रु पाँच दिनदेखि बीच बाटोमै अलपत्र परेका छन्।
डोटीबाट विशेष कामले धनगढीतर्फ आउँदै गरेका मीनराज जोशी बाटोमै अलपत्र पर्दा निक्कै दुस्ख पाएको बताउनुहुन्छ । अवरुद्ध सडक खुल्ला र धनगढी पुगेर आफ्नो काम गरौँला भनेर बाटोमै पर्खी बसेका छौँ, उहाँले भन्नुभयो, आज पाँच दिन भइसक्दासम्म बाटो नखुल्दा गोजीमा बोकेको खर्च सकिएर समस्यामा परेका छौँ ।
यता, पहिरो पन्छाएर गाडीको आवागमन शुरु गराउने प्रयास गरिरहेको भए पनि निरन्तरको वर्षाले काम प्रभावित भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताउनुभयो । उहाँले लगातार वर्षा भइरहँदा पहिरो पन्छाउने काम प्रभावित भएको बताउनुभयो ।
पहिरो र भासिएको सडक खण्डको ८० प्रशित भागलाई आवागमन गर्न सकिने बनाइसकेका छौँ, उहाँले भन्नुभयो, पूरै पहिरो पन्छाएर बाटो सञ्चालन गर्न वर्षामा भर पर्नुपर्छ ।
यो सडक खण्डको झण्डै पाँच सय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको छ भने एक सय मिटर सडक भासिएको छ । पहिरो खस्दा नजिकैका सातरआठ घरपरिवार रहेको बस्ती पनि जोखिममा परेको छ । सडक डिभिजन कार्यालयले तीन वटा एक्स्काभेटर र दुई लोडर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।
सडक अवरुद्ध हुँदा खाद्यान्न, औषधि, साग, तरकारीलगायत सामानको आपूर्ति रोकिएको छ । बाटो अवरुद्ध हुँदा मालवाहक गाडी बीच बाटोमै रोकिएका छन् । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा बढी गाडीको आवागमन हुने गर्छ ।
यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बूढीतोला सडक खण्डको स्थलगत अवलोकन गर्दै छिट्टै राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्