जनता टाइम्स

२८ श्रावण २०८०, आईतवार १५:२३

गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्छ, अरू विषयमा बोल्न गृहमन्त्री रोष्ट्रममा जानु अनौठो कुरा हो : अध्यक्ष ओली


काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताउनुभएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

आफ्नो राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको उहाँको भनाइ छ ।

सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोप लगाउँदै ओलीले भन्नुभयो,‘गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैँ… राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । ब्रेक सु भनेर ल्यायो सुन हुन्छ, जे ल्यायो त्यहि सुन, सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?’