जनता टाइम्स

२८ श्रावण २०८०, आईतवार २०:१५

सरकार सबै नागरिकको नि:शुल्क स्वास्थ्य सेवाको तयारीमा छ : मन्त्री बस्नेत


काठमाडौं, २८ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, हरेक नागरिकले चाँडै निशुल्क उपचारको सुविधा पाउने बताउनुभएको छ । लिभर फाउण्डेशन नेपालद्धारा विश्व अंग दान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब कोहि मान्छे पैसा नभएर मर्न नपर्ने भन्दै त्यसको व्यवस्था राज्यले गरिरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘देशभरी गरीब निमुखाको स्वास्थ्य निःशुल्क उपचार गर्ने भनेर अभियान चलाएर बसेको मान्छे अझैपनि भन्छु । कोहि मान्छे पैसा नभएको कारण उपचार नपाएर मर्नु पर्दैन त्यसको जिम्मा राज्यले लिन्छ । म लिन्छु । कसरी व्यवस्था गर्ने हामी गरिरहेका छौ ।’

मन्त्री बस्नेतले एउटा मन्त्रीले गलत निर्णय लिदाँ पूरै देश बिग्रने भएकाले आँफू अरुको कुरा नसुनि स्वास्थ्य क्षेत्रलाई सुधारेर कर्मचारी व्यवस्थापनमा सक्रियतापूर्वक लागेको जिकिर गर्नुभयो । नीजि भन्ने बित्तिकै राम्रो सेवा हुन्छ भन्ने भ्रम बढेकाले सरकारी शिक्षा र स्वास्थ्य क्षेत्रले प्राथमिकता नपाएको उहाँको गुनासो छ ।