जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार ११:३७

म तर्सेर भाग्ने खालको मान्छे होइन : माधवकुमार नेपाल


काठमाडौं, २९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू तर्सेर भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिनुभएको छ । ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सर्वोच्च अदालतले आदेश दिएलगत्तै विदेश भ्रमणमा जानुभएको अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिनुभएको हो ।

विदेश भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे आफू नभएको बताउनुभउको हो । उहाँ यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको थियो । त्यसको अघिल्लो दिनमा सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो ।

‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । पत्रपत्रिकामा मेरोबारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो । गोली चल्ने बेलामा, गोली खानी बेलामा, राजालाई समाउने बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन,’ उहाँले भन्नुभयो ।

प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा युरोपका विभिन्न देशको भ्रमण गरेर स्वदेश फर्किनुभएको उहाँले सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको बताउनुभयो ।