जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार १३:२१

संसद बैठकअघि एमालेको सचिवालय बैठक, यस्ता छन मुख्य एजेण्डा


काठमाडौं, साउन २९ । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ। विमानस्थलबाट भएको सुन प्रकरण, संसदको गतिरोध र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक दिउँसो साढे १२ बजेदेखि बसेको हो।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। उक्त बैठक अगाडि रणनीति तय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनु भएको हो । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेले समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएको छ।

सत्तारुढ दलभित्रैका सांसद उच्चस्तरीय छानबिन समितिबारे दुई धारमा उभिएका छन्। कांग्रेस संसदीय दलको बैठक आज पनि जारी रहेको छ। बैठकमा सुनतस्करी प्रकरणले पनि प्राथमिकता पाएको छ। आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा ओलीले अहिलेको संसद एमालेले चलाउन खोजेपनि सरकारले चल्न नदिएको बताउनु भइसकेको छ ।

‘अहिले‍को संसदको अवरोध तपाईंहरुले देख्नभएको छ। हामी चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्‍याकजुरुक्क सबै उठे‍र हो हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ,’ ओलीले भन्नुभएको छ, ‘संसद अवरोध हुनै हुँदैन। गर्नै हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद देशका लागि जनताका लागि काम गर्ने थलो हो। संसद देश र जनताका पक्षमा बोल्ने आवाज उठाउने ठाउँ हो। देश र जनताका हितमा सरकारमा भए रक्षा गर्ने र सरकारमा नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद निदाएर बस्ने थलो होइन।’