जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार १३:५२

बालयौन दुरुपयोग अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक नै पक्राउ


ललितपुर, साउन २९ । बालयौन दुरूपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक नै पक्राउ परेका छन । ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नुभन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो । बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ ।

दत्तसिंहमाथि उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका ४१ वर्षीय सिंह हुम्ला सिमिकोट गाउँपालिका–६ निवासी हुन ।