काठमाडौं, साउन ३२ । सशस्त्र प्रहरीको प्रहरी उपरीक्षक (एसपी) बाट बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा ब्यापक आर्थिक चलखेल देखिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयका दुई सदस्यले ब्यापक आर्थिक चलखेल गरी बढुवामा बदमासी गरेको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बलले आज मात्रै १२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिश गरेको छ । १२ जनाको बढुवा गर्दा बरियतामा चौथो नम्बरमा रहेका एसपीलाई बढुवाबाटै बञ्चित गरी आर्थिक लाभका आधारमा १४औं र १८औं नम्बरमा रहेका एसपीलाई तानेर ४ नम्बरमा रहेकालाई नै फालिएको छ ।
सशस्त्र मुख्यालयका एक बरिष्ठ अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार यो बढुवामा गृहमन्त्री श्रेष्ठको बिश्वासपात्र सुशन श्रेष्ठ र भतिज सुरेशकाजी श्रेष्ठले राम्रै मोलमोलाई गरेर नाम छानेका हुन ।
बढुवामा ४ नम्बरमा रहेका ध्रुव कार्की, ८ नम्बरमा रहेका बीरसिंह साहु, नवौंमा रहेका जनक पुरी, दशौं नम्बरमा रहेका नेत्रबहादुर कार्की भने आउट भएका छन । बढुवाको मापदण्ड नै मोलमोलाई भएको कारण सोही आधारमा बरियता दिएर बढुवा सिफारिश गरिएको स्रोतको भनाई छ ।
सशस्त्र प्रहरीको बढुवा समितिले आज राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजीत, भरत खनिवा, नेत्रबहादुर कार्की र रमेशकुमार पाण्डेलाई क्रमश एकदेखि छैटौं नम्बरमा राखेर बढुवा सिफारिश गरेको छ । यस्तै सातोदेखि १२औंसम्म क्रमशः बिकाश घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेललाई बढुवा सिफारिश गरिएको छ ।
सशस्त्रमा हाल सिनियर समूह भनेको २०७५ चैत १५ गते एसपी भएको समूह हो । यो समूहमा १९ जना रहेका छन । दोस्रो समूह भनेको २०७७ जेठ २४ गते एसपी भएकाहरूको समूह रहेको छ ।
यसअघि बरियताक्रम क्रमशः राजेश उप्रेती, गंगाराम श्रेष्ठ , भरत खनियां, ध्रुवबहादुर कार्की, रमेशकुमार पाण्डे, तीर्थराज पौडेल, रविन राज कर्णजित, बिरसिंह साहु, जनक पुरी, नेत्रबहादुर कार्की, सुर्यबहादुर सेनओली, तेजप्रसाद पोखरेल, यादव विश्वकर्मा, बिकाश घिमिरे, टोपबहादुर खनाल, नरेन्द्र बम, अशोक बम, जहरसिंह बुढामगर र बिरेन्द्र ऐर रहनुभएको थियो ।
नेपाल प्रहरीमा पनि यसअघि प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा गर्दा सुनस र सुरेशकाजीले नै ३२ जनासँग रकम असुली गरेको आरोप लागेको थियो ।














प्रतिक्रिया दिनुहोस्