जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार १९:२२

बुटवलमा मिडिया सम्मेलन सुरू, कसैलाई सिध्याउने गरी मिडिया लाग्न नहुनेमा मुख्यमन्त्री चौधरीको जोड


रूपन्देही, भदौ १ । बुटवलमा शुक्रबार मिडिया सम्मेलन सुरू भएको छ । सम्मेलन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडिया बलियो भएमात्र सरकार बलियो हुने बताउनु भएको छ ।

सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गर्दै उहाँले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताउनु भयो ।

‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ । तसर्थ मिडियाहरु बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ’, मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘मिडियाहरुले सरकारको गुनगान गाउनु पर्दैन । आलोचनात्मक लेख्नुस् । तर, कसैलाई सिध्याउने गरी मिडिया लाग्नुहुँदैन ।’

प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरि त्यसको सम्भावना रहेको उहाँको भनाई थियो । ‘हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृतिहरु र प्रशस्त हिल स्टेशनहरु छन्’, चौधरीले भन्नुभयो, ‘प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि छलफल गरिरहेको छ ।’

व्यक्तिगत रुपमा अनुदान माग्न नआउन आग्रह गर्दै उहाँले सञ्चारमाध्यमलाई संस्थागत रुपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

सम्मेलनमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंलगायतले सञ्चारमाध्यमहरुले बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो ।

सम्मेलनले मोफसलका मिडियाहरुको सवलीकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपतालगायतका विषयमा घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिनुभयो ।

सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब २०० जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता रहेको छ ।