जनता टाइम्स

२ भाद्र २०८०, शनिबार १७:२९

नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा


धनगढी, २ भदौ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताउनुभएको छ । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उद्घाटन समारोहमा मन्त्री देउवाले नेपाली क्रिकेटको व्यवस्थापन, समन्वय र खेलाडी उत्पादनका दृष्टीकोणले सुदूरपश्चिमले सधैं अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।

सुदूरपश्चिमको क्रिकेटलगायत समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारले आफनो तर्फबाट सक्ने सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री देउवाले फाप्ला क्रिकेट मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनलगायत काम अघि बढाइएको जानकारी दिनुभयो । ‘क्रिकेटसँगै सुदूरपश्चिमको खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो ।

प्रदेशको खेलकुदको विकासका लागि प्रदेश खेलकुद परिषद्ले परीणाममुखि काम देखाउन बाँकी रहेको मन्त्री देउवाको भनाइ थियो ।कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफनो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको बताउनुभयो । उहाँले नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गर्नुभयो ।

‘नेपाली क्रिकेट खेलाडीलाई न्यून पारिश्रमिक दिएर खेलाउनु परिरहेको छ’, क्यान अध्यक्ष चन्दले भन्नुभयो,‘सातवटै प्रदेश सरकारले कम्तीमा पाँच खेलाडीलाई आत्मनिर्भर बनाउने गरी खेलकुदका योजना अगाडी बढाउनुपर्ने आवश्यकता छ ।’ नेपाली क्रिकेटमा अब नाम र दाम कमाउन सक्ने वातावरण बनेको उल्लेख गर्दै उहाँले सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको बताउनुभयो । उहाँले नेपालको क्रिकेटको विकासका लागि क्यान सदैव सक्रिय रहँदै आएको बताउनुभयो । साधारणसभामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका क्रिकेट सङ्घका प्रतिनिधि सहभागी छन् ।