जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार ०८:५१

स्वदेश फर्किएलगत्तै सक्रिय बने प्रधानमन्त्री ओली


काठमाडौं, भदौ २१ । प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको उपचारपछि शुक्रबार स्वदेश फर्किए लगत्तै काममा सक्रिय बन्नुभएको छ । स्वास्थ्य अवस्था सामान्य रहेकाले आइतबारबाट प्रधानमन्त्री नियमित काममा सक्रिय हुने उहाँको सचिवालयले जनाएको छ । शुक्रवार नेपाल फर्केलगत्तै प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग पार्टी र सरकारका कामबारे जानकारी लिनुभएको छ ।

थाई एयरवेजको नियमित उडानबाट अपराह्न सवा १२ बजे नेपाल आइपुग्नुभएका प्रधानमन्त्री ओलीलाई कार्यबाहक प्रधानमन्त्री पोखरेल, सभामुख कृष्णबहादुर महरासहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वागतका लागि सत्तारुढ नेकपाका नेता–कार्यकर्ताको ठूलो समूह विमानस्थल पुगेको थियो । विमानस्थलमा स्वागत ग्रहण गरेर उहाँ सीधै सरकारी निवास बालुवाटार जानुभयो ।

प्रधानमन्त्रीसँगै नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, श्रीमती राधिका शाक्यसहितको टोली पनि स्वदेश फर्किएको छ । बालुवाटार पुगेको केही समयपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डसँग छुट्टै भेटवार्ता गर्नुभयो । प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलबाट पनि मुलुकको पछिल्लो अवस्थाको ब्रिफिङ लिनुभएको छ । सिंगापुर प्रस्थान गर्नुअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बैठक बोलाएर निर्णय गर्न सक्नेगरी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी तोकेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले भोलिबाट प्रधानमन्त्री ओली नियमित काममा फर्कनुहुने बताउनु भयो । ‘चिकित्सकहरूले शनिबारसम्म धपेडी हुने गरी काम नगर्न, नियमित भेटघाट कम गरेर केही आराम गर्न सुझाब दिनुभएको छ । तर, आइतबारबाट उहाँ कार्यतालिकाअनुसार सक्रिय हुनुहुनेछ । आइतबारपछि चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तादेखि पेट्रोलियम पाइपलाइन उद्घाटनसम्बन्धी तयारी बैठकलगायतमा उहाँ सहभागी बन्नुहुनेछ,’ प्रेस सल्लाहकार अर्यालले भन्नुभयो ।