जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार ०९:१७

भारतको चन्द्रयान टु को यसरी टुट्यो सम्बन्ध


काठमाडौं, भदौ २१

भारतको चन्द्रयान टु चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नुपूर्व नै सम्पर्क विच्छेद भएको छ । चन्द्रमाको सतहमा उत्रनुभन्दा २.१ किलोमिटर माथीबाटै चन्द्रयान–२ को विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको हो ।

यससँगै भारतीय वैज्ञानिकको ‘मिशन चाँद’ असफलता उन्मुख भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले भनेको छ, ‘चन्द्रयान टुमा रहेको विक्रम नाम गरेको रोबटले योजना अनुरुप नै अवतरण गरिरहेको थियो, अवतरण गर्ने सतहको २ दशमलव १ किलोमिटर सम्म पनि अवस्था सामान्य नै थियो तर त्यसको केही समय पछि नै सम्पर्क टुटेको छ अहिले त्यस सम्बन्धि डाटाको समिक्षा भइरहेको छ ।’

योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो । भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए । सबै सामान्य भएकाले वैज्ञानिकहरु उत्साहित देखिन्थे तर अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि भने उनीहरु निरास देखिन्थे ।

विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ । मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ । तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ । तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ । तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा तपाईँहरुको साथमा छु ।’

बिहान साढे एक बजे चन्द्रयान–२ को विक्रम ल्याण्डर बिस्तारै चन्द्रमाको सतहमा उत्रँदै थियो । विक्रम ल्याण्डर पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरसँग अलग हुँदै थियो त्यसपछि उसलाई चन्द्रमाको सतहमा ल्याण्ड गराउने योजना थियो । ल्याण्डरसँगै प्रज्ञान नाम गरेको रोभर पनि थियो । जसले ल्याण्डरको सुरक्षित अवतरणपछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुमेर अनुसन्धान गर्ने योजना थियो ।

इसरोले चन्द्रयान–२ का लागि चन्द्रमाको दक्षिणी ध्रुव छनोट गरेको थियो । त्यहाँ विक्रम ल्याण्डरलाई सफ्ट ल्याडिङ गराइँदै थियो तर ल्याण्ड हुनुभन्दा केही पहिले मात्रै सम्पर्क विच्छेद भैदियो । चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो देश हो । अहिलेसम्म चन्द्रमाको भूमध्य रेखाको आसपास नै यानहरु पठाइएको थियो । यदि यो मिसनमा सफल भए अमेरिका, रुस र चीन पछि भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्नेछ ।

यदि भारतको प्रज्ञान रोभरमा जडान गरिएको सेन्सरबाट चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका ठूला–ठूला खाल्डामा पानी रहेको प्रमाण भेटिएमा यो अन्तरिक्ष अनुसन्धानमा ठूलो फड्को हुने थियो । चन्द्रयान–२ को मिसन सफल भएमा अमेरिकी अन्तरिक्ष एजेन्सी(नासा)ले २०२४ पठाउँदै गरेको एक महत्वाकांक्षी मिसनलाई पनि सहयोग पुग्ने बताइन्छ । अहिले नै सबै समाप्त भैसकेको छैन । वैज्ञानिकहरुले ल्याण्डरसँग सम्पर्क स्थापित हुने आशा राखेका छन् ।
१ अर्ब ५० करोड डलरको खर्चमा निर्माण गरिएको चन्द्रयान टु ले सन् २००८ मा प्रक्षेपण गरिएको चन्द्रयान वानको अध्ययनलाई थप विस्तार गर्ने विश्वास गरिएको थियो