जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १०:०८

एसिड प्रकरण : खातुनको अवस्था अझै गम्भिर, अर्का आक्रमणकारी पनि पक्राउ


काठमाडौं, भदौ २१

एसिड आक्रमणमा परेकी मुस्कान खातुनको शरीरको दस प्रतिशत भाग डढेको र अवस्था खतरामुक्त भइनसकेको चिकित्सकले बताएका छन् । वीरगन्जकी मुस्कानलाई स्थानीय नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि शुक्रबारै कीर्तिपुरस्थित नेपाल क्लेफट एन्ड बर्न सेन्टरल्याइएको छ ।

‘मुस्कानको अनुहारको दायाँ भाग, घाँटी, छाती र हातमा एसिड परेको छ,’ उपचारमा संलग्न डा. सुरेन्द्र बस्नेतले भन्नुभयो, ‘प्रारम्भिक जाँचअनुसार आँखामा भने असर देखिएको छैन ।’ उहाका अनुसार एसिडले जल्नेबित्तिकै गहिरो घाउ बनाउने भएकाले शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । खातुनको आइतवार शल्यक्रिया गरिने अस्पतालले जानकारी दिएको छ ।

यसैविच, खातुनमाथि एसिड आक्रमण गर्ने मजिद मिया पनि पक्राउ परेका छन्। उनलाई वीरगन्जमा शुक्रबार साँझ नै पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुई अभियुक्तमध्ये सम्साद आलम भने घटना भएलगत्तै पक्राउ परेका थिए । सहयोगी सम्साद आलमसँग मिलेर मजिदले तेजाब प्रहार गरेको खुलेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनु भयो ।

खातुनलाई प्रदेश २ सरकारले उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने भएको छ । मुस्कानको उपचारका लागि मुख्यमन्त्री लालबाबु राउतले ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गर्नु भएको हो । प्रदेश २ मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले मुस्कानको उपचारको लागि मुख्यमन्त्री राउतले ५ लाख रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको जानकारी दिनुभयो ।