जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १६:११

प्रचण्डको निश्कर्ष : चीन नेपालको बिकाशमा भरपर्दो साझेदार, समृद्धिका लागि चिनियाँ पूँजी अपरिहार्य


काठमाडौं, भदौ २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सरकार लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ लागिपरेको प्रष्ट पार्नुभएको छ । इजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानी काठमडौंमा आज आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाको वर्तमान सरकार मुलुकमा लगानीको उपयुक्त बातावरण बनाउन लागिपरेको प्रष्ट पार्नुभएको हो ।

अध्यक्ष प्रचण्डले बर्तमान सरकार सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको जानकारी पनि दिनुभयो । एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहोर्याउँदै उहाँले चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

‘नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहतस्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । नेपालमा लगानीको उपयुक्त वातावरण बनेको तथा लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको जानकारी दिँदै उहाँले नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आह्वान गर्नुभयो ।

अध्यक्ष प्रचण्डले रोजगारीका अवसर सृजना र आर्थिक उन्नयनको नेपालको यात्रामा चिनियाँ पूँजी अपरिहार्य भएको पनि बताउनुभयो । नेपालले मात्र नभइ विश्वले नै चीनतर्फ लगानीका निम्ति हेरिरहेका तथा उसले गरेको विष्मयकारी विकासबाट अधिकाधिक लाभ लिन खोजेको बताउँदै उहाँले भन्नुभयो, ‘नेपालको निकटको छिमेकी चीन भरपर्दो विकासको साझेदार हो ।’

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले समस्यारहित नेपाल–चीन सम्बन्धलाई सभ्यता, संस्कृति, इतिहास र भूगोलले जोडेको र त्यो शान्तिपूर्ण, सहअस्तित्व, सार्वभौम समानता र अहस्तक्षेपजस्ता पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताउनुभयो ।

चिनियाँ लगानीकर्ताले नेपालमा पूँजी लगाउन चाहेका तर उनीहरुमा शङ्का र जिज्ञासा रहेकाले त्यसलाई निवारण गर्न नेपालमा नै मञ्चको बैठक आयोजना गरिएको बताउनुभयो । मञ्चको एक दिवसीय बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री र उहाँहरुका प्रतिनिधिले आ–आफ्ना प्रदेशका औद्योगिक विकासका सम्भावनाबारे विस्तृत विवरण प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा ५० भन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी छन् ।

बैठकमा चाइना कमर्सियल स्टक इन्टरप्राइजेजका नायब महासचिव ली छुसोङले नेपालमा औद्योगिक प्रतिष्ठान स्थापनासम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो ।