जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १७:१३

अनि कोठाभित्र आएर धुरुधुरु रोइन श्रृंखला खतिवडा


काठमाडौं, भदौ २१ । मिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालकै कारण आफू धुरुधुरु रुन बाध्य भएको खुलासा गर्नुभएको छ । फ्रान्स भ्रमणबाट फर्केपछि सामाजिक सञ्जालमा आएका कमेन्टले दिएको पीडा थाम्न नसकी एक्लै कोठामा रोएको खतिवडा आफैले सार्वजनिक गर्नुभएको छ ।

‘केही समयअघि बच्चैदेखिको मिल्ने साथीको बिहे थियो । उसकै बिहेलाई भनेर विदेशबाट फर्किनेबित्तिकै म हेटौंडा पुगें । विवाहको माहौल रमाइलो थियो । तर त्यसबीच मेरो नजर फ्रान्स भ्रमणको फोटोमा आएका टिप्पणीतर्फ गयो । त्यो फोटोमा आएका कमेन्टले मेरो जिउ नै काम्यो,’ खतिवडाले सेतोपाटीलाई भिडियो अन्तरवार्ता दिँदै भन्नुभएको छ । उहाँका अनुसार त्यसदिन बिवाहको उत्सवले समेत त्यो पीडालाई थामथुम पार्न सकेन ।  ‘विवाहको रमाइलो माहोलमा समेत म रमाउनै सकिन । कोठाभित्र आएर धुरुधुरु रोएँ,’ खतिवडाले भिडियोमा भन्नुभएको छ ।

खतिवडाले सामाजिक सञ्जालमा बढदै गएको नकारात्मक कुराले सवैलाई पीडा दिने गरेको अनुभुति पनि राख्नुभएको छ । ‘अहिले सामाजिक सञ्जालमा भाइरल हुने ट्रेन्ड छ । केही दिन एउटा कुरा भाइरल हुन्छ । दुई दिनपछि अर्को भाइरल कुरा आउँछ । म जब युट्युब खोल्छु । अचम्मित हुन्छु । जे ट्रेन्डिङ छ, त्यसकै पछाडि माइक लिएर युट्युबरहरू दौडिएका छन् । धेरैको ध्यान भिजिटर कसरी बढाउने भन्नेमै छ । यो देख्दा दुःख लाग्छ,’ खतिवडाको भनाई छ ।

एउटा ‘सेन्सेटिभ’ मान्छेको लागि सामाजिक सञ्जाल डरलाग्दो ठाउँ बनेको छ । कोही मान्छे कडा हुन्छन, थिक स्किन (जसले जे भने पनि सहन सक्ने) भएका उनीहरूलाई सामाजिक सञ्जालमा आउने कमेन्टहरूले फरक नपार्ला । तर मजस्तो सेन्सेटिभ मान्छेलाई धेरै गाह्रो हुन्छ

उहाँले संवेदनसील मान्छेका लागि सामाजिक सञ्जाल निकै डरलाग्दो बनेको पनि बताउनु भएको छ । ‘एउटा ‘सेन्सेटिभ’ मान्छेको लागि सामाजिक सञ्जाल डरलाग्दो ठाउँ बनेको छ । कोही मान्छे कडा हुन्छन, थिक स्किन (जसले जे भने पनि सहन सक्ने) भएका उनीहरूलाई सामाजिक सञ्जालमा आउने कमेन्टहरूले फरक नपार्ला । तर मजस्तो सेन्सेटिभ मान्छेलाई धेरै गाह्रो हुन्छ,’ खतिवडाले भन्नुभएको छ ।