रुपन्देही, ६ भदौ । बुटवलका औषधी व्यवसायी गंगा ढकाल ४ दिनदेखि बेपत्ता हुनुभएको छ । बुटवलको मैत्रीपथमा लामो समयदेखि औषधी पसल सञ्चालन गर्दै आउनुभएका ५३ वर्षीय ढकाल शनिवार अपरान्ह घरबाट हिँडेपछि सम्पर्कमा नरहेको पारिवारिक श्रोतले जनाएको छ । शनिबार बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको र आइतबार बिहान चितवनकै एक कुरियरमार्फत आफूले लगाएका कपडा र आफूलाई अब नखोज्नु भन्ने सन्देश पठाएकाले परिवारमा चिन्ता बढेको हो ।
मोबाइल फोन र नियमित लगाउने घडीसमेत घरमै छोडेर हिड्नुभएको ढकाल आइतबार साँझ सवा ७ बजे पछिल्लो पटक नारायणी नदीको पुलमाथि देखिएको र त्यसपछि कुनै सम्पर्क नभएको पारिवारिक श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आइतवार साँझ करिव सवा सात बजेको समयमा एक ब्यक्ति नारायणी नदी पुलबाट हाम फालेको सुचना प्राप्त गरेको र हाम फालेका ब्यक्तिको खोजतलास भएपनि नभेटिएको बताउनुभयो ।
तर त्यो दिन नदीमा हाम फाल्ने ढकाल नै हो वा होइनन् भन्ने केही नखुलेको उहाँले बताउनुभयो । तर सिसिटिभीमा उहाँ पैदल बजारबाट पुलतर्फ लागेको तर गैडाकोटमा नभेटिएकाले उहाँ नै हुनसक्ने आशंका रहेको बताउनुभयो । ढकाल बिभिन्न सामाजिक संघसंस्थामासमेत सक्रिय रहेकाले के कारणले घर छोडेर हिँडे भन्ने खुलेको छैन । सबैसँग घुलमिल हुने स्वभावका व्यवसायीको यो समाचारले धेरै व्यवसायीलाई निरास बनाएको छ । औषधि व्यवसायी संघका अध्यक्ष सुरज भट्टराईले प्रहरी, परिवारजन तथा व्यवसायीको टोली नितरन्तर खटिएपनि केही पत्ता नलागेको र आफू चितवनमै रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्