जनता टाइम्स

७ भाद्र २०८०, बिहीबार ०९:५७

रिटर्नी फेडेरेसनद्वारा श्रम मन्त्रीको ध्यानाकर्षण


काठमाडौं, ६ भदौं । रिटर्नी फेडेरेसन नेपालले रिटर्नीको एकिकृत समायोजन र पुर्नस्थापनाको लागि श्रम मन्त्रीको ध्यानकर्षण गराएको छ । फेडेरेसनका प्रतिनिधि मण्डलले आज श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारीलाई देशको युवा पलायन र रिटर्नीलाई देशमै स्थापित गर्न ध्यानाकर्षण सहित १३ बूँदे मागपत्र समेत पेश गरिएको छ ।

रोजगारीको बैकपिक अवसरको अभावमा दैनिक २५ सयदेखि ३ हजारको संख्यामा वैदेशिक रोजगार तथा अध्ययनको लागि विदेशिने युवा जनशक्तिलाई देशमा रोक्ने अवस्था नरहेकोले वैकल्पिक श्रम शक्तिको रुपमा रिटर्नीहरुलाई उपयोग गर्नुपर्ने नीति राज्यले अवलम्बन गनुपर्ने तर्फ फेडेरेसनले जोड दिएको छ । ज्ञान, सीप, प्रविधि तथा केही पूँजीं सहित फर्किएका रिटर्नीहरुको समायोजनको लागि सरकारी कार्यालय तथा अधिकार सम्पन्न निकायको अतिरिक्त ऐन, कानुन निर्माणको आवश्यकता माथि फेडेरेसनले ध्यानाकर्षण गराएको छ । नीति निर्माणमा यसका सरोकारवालाहरु समेतको अनिवार्य सहभागिता गराउने बिषयमा फेडेरेसनको जोड रहेको छ ।

मन्त्री भण्डारीले आफु विदेशबाट फर्किएकाहरुको समायोजनमा गम्भिर रहेको बताउनुभयो । वहाँले नेपालको आप्रवासी नीतिको अतिरिक्त एकद्वार प्रणाली मार्फत प्रवासनका चारवटै चक्रलाई एकै पटक सम्बोधनको कार्यक्रम तयारी बारे जानकारी गराउनु भएको थियो ।यसको लागि सीप सिकाई र सीप परीक्षणको लागि प्रतिष्ठानको अवधारणा तथा प्राविधिक शिक्षाको लागि हाल संचालित संस्थाहरुलाई अझ बढी सक्रिय बनाइने योजना रहेको बिषयमा मन्त्री भण्डारीले व्याख्या गर्नुभयो । विशेषगरी वैदेशिक रोजगारमा धैरै जाने मधेश प्रदेशमा समस्या पनि उति नै धैरै भएको विषयमा पनि छलफल भएको छ ।

प्रतिनिधि मण्डलले बुधबारै श्रम मन्त्रीनै प्रमुख रहने वैदेशिक रोजगार बोर्डमा पनि विभिन्न विषयमा छलफल गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा। द्वारीका प्रसाद उप्रेती तथा विभागका विज्ञ सदस्य राजन श्रेष्ठसँग समेत कल्याणकारी कोषको उपयोग तथा फेडेरेसनसँगको सहकार्यका विविध पक्षमा छलफल भएको छ । यस अघि गन्तव्य मुलुकका उद्धार तथा सहयोगको प्रक्रिया सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शाखामा समेत फेडेरेसनले जानकारी हासिल गरेको थियो ।

फेडेरेसनका उपाध्यक्ष तथा वैदेशिक रोजगार विभाग प्रमुख रामकृष्ण घिमिरेको नेतृत्वको सो प्रतिनिधि मण्डलमा अर्का उपाध्यक्ष काजी बहादुर थापा मगर, महासचिव जेपी सापकोटा, सचिव खेम बहादुर कार्की, स्थायी कमिटी सदस्य तथा उद्यमशिलता विभाग सचिव शुभेक्क्षा मेयाङवोको सहभागिता रहेको थियो ।