जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार ०९:३१

राजनैतिक नेतृत्वको योजना कार्यान्वयन गर्न निजामति प्रशासनको दरिलो साथ र सहयोग आवश्यक : मुख्यमन्त्री पोखरेल


बुटवल, भदौ २२ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको विकास र समृद्धिका माध्यमवाट समृद्ध राष्ट्र निर्माणको महाअभियानमा जुट्न संकल्पित रहेको भन्दै यो अभियानमा समस्त निजामति कर्मचारी वर्गको उत्साहपूर्ण सहभागिता, अठोट र योगदानको अपेक्षा गरिएको बताउनुभएको छ । निजामति सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पोखरेलले सो भनाई राख्नुभएको हो ।

‘लामो द्वन्द्व, शान्तिप्रक्रिया, संविधानसभा हुँदै नयाँ संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको चरणमा प्रवेश गरेको छ । अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्यगर्दै विकसित र समृद्ध नेपाल निर्माण गर्नुपर्ने छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट समृद्ध राष्ट्र निर्माणको महाअभियानमा जुट्न संकल्पित छौ । यो अभियानमा समस्त निजामति कर्मचारी वर्गको उत्साहपूर्ण सहभागिता, अठोट र योगदानको अपेक्षा छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

यस्तो छ मुख्यमन्त्री पोखरेलकोसन्देश

निजामति सेवा दिवस—२०७६ को अवसरमा समस्त निजामति कर्मचारीवर्गमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । संविधान निर्माणपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको अन्त्य गर्दै मुलुकमा विधिवत रुपमा संघीय शासन प्रणाली स्थापित भएको छ । राज्य पुनःसंरचना अनुसार कर्मचारी समायोजनको काम भएपछि अहिले तीनै तहको सरकारमा प्रशासनिक संरचना आधारभूत रुपमा खडा भएको छ । कर्मचारी समायोजनले प्रदेश र स्थानीय सरकारले आवश्यक जनशक्ति प्राप्त गरेका छन् । प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश लोकसेवा आयोग गठन भई आवश्यक काम अघि बढेको छ । अब जनशक्तिको अभावमा प्रदेश र स्थानीय तहमा कामकाज प्रभावित हुने छैन् ।

लामो द्वन्द्व, शान्तिप्रक्रिया, संविधानसभा हुँदै नयाँ संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको चरणमा प्रवेश गरेको छ । अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्यगर्दै विकसित र समृद्ध नेपाल निर्माण गर्नुपर्ने छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट समृद्ध राष्ट्र निर्माणको महाअभियानमा जुट्न संकल्पित छौ । यो अभियानमा समस्त निजामति कर्मचारी वर्गको उत्साहपूर्ण सहभागिता, अठोट र योगदानको अपेक्षा छ ।

सक्षम निजामति प्रशासन : विकास, समृद्धि र सुशासन, यस वर्षको निजामति दिवसको नारा रहेको छ । निजामति दिवसको यो नारालाई मुलतः व्यवहारमा कार्यान्वयन गर्ने प्रमुख काम समस्त राष्ट्रसेवक कर्मचारीवर्गको हो । सुशासनयुक्त निजामति प्रशासन मार्फत सेवा प्रवाह प्रभावकारी रुपमा अघि बढाएर नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । सरकारप्रति नागरिकको विश्वास र भरोसा बढाउन सकिन्छ । मुलुकमा भएको राजनैतिक परिवर्तनसगैं चुलिएका नागरिकका अपेक्षा पूरा गर्न राजनैतिक नेतृत्वको योजना कार्यान्वयन गर्न निजामति प्रशासनको दरिलो साथ र सहयोग आवश्यक पर्छ । त्यसका निम्ति निजामति प्रशासनलाई चुस्त,छरितो र नागरिकमाझ अझै विश्वसनीय बनाउन राष्ट्रसेवक कर्मचारीवर्ग एकजुट भई अघि बढौं ।

निजामति सेवा दिवस—२०७६ को अवसरमा सबै निजामति कर्मचारी वर्गमा हार्दिक मंगलमय शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री